Media, Youth and Information Integrity

569 Views

डिजिटल तथा मिडिया साक्षरतासँग सम्बन्धित पक्षहरू खासगरी आलोचनात्मक चेत, डिजिटल सीप र दक्षता, डिजिटल सहभागिता र डिजिटल मिडिया प्रयोग गर्दा अपनाउनुपर्ने सम्वदेनशीलता एवम् मर्यादित व्यवहारजस्ता विषयप्रतिको नेपाली युवा जनसंख्याको अभ्यास, मनोवृत्ति, मनोदशा र सचेतता मापन गर्ने उदेश्यले ‘युवा, मिडिया र सूचना अखण्डता’ शीर्षकमा अध्ययन कार्य अघि बढाइएको हो । वि.स. २०८१ को मध्यतिर सम्पन्न गरिएको सर्वेक्षणमा मुलुकका सात वटै प्रदेश, फरक भौगोलिक, सांस्कृतिक, आर्थिक र शैक्षिक पृष्ठभूमिको प्रतिनिधित्व गर्ने गरी १८ देखि ३० वर्ष उमेर समूहका १ सय ५६ जना महिला र १ सय ७६ जना पुरूष गरी कुल ३ सय ३२ जनाको सहभागिता गराइएको थियो । सूचनाको स्रोत र उपयोग, सूचनाको अखण्डता, आलोचनात्मक चेत, डिजिटल सीप र दक्षता, डिजिटल सहभागिता र सूचनाको सम्वेदनशील एवम् मर्यादित प्रयोगलाई मुख्य सूचकहरू मानेर इन्टरनेट मार्फत वितरण गरिएको सर्वेक्षण फारममा प्रश्नावली तयार पारिएको थियो ।

  • सर्वेक्षणमा सङ्कलित तथ्याङ्कको विश्लेषणबाट निकै महत्त्वपूर्ण र अर्थपूर्ण नतिजा तथा निष्कर्षहरू निस्केका छन् । अध्ययनले नेपालमा सूचना र समाचारका लागि सबैभन्दा बढी प्रयोग हुने माध्यमका रूपमा सामाजिक सञ्जाल भएको देखाएको छ । सामाजिक सञ्जालपछि समाचारमूलक वेबसाइट पनि ७९ प्रतिशत युवाहरूले नियमित प्रयोग गर्दछन् । सँगसँगै, रोचक कुरा के छ भने सबैभन्दा लोकप्रिय भए पनि डिजिटल मिडिया विश्वसनीयताको हिसाबले धेरै पछाडि देखिन्छ । भरपर्दो सूचना स्रोतको रूपमा टेलिभिजन सबैभन्दा विश्वासयोग्य हुन्छ भन्ने नेपाली युवाहरूको मान्यता छ ।
  • नेपालमा युवाहरू सबैभन्दा बढी शिक्षामूलक, सीपमूलक र ज्ञानमूलक सामग्रीमा रूचि राख्छन् । तर, आफ्नो रूचिको सामग्री इन्टरनेटमा प्राप्त गर्न भने अधिकांशले कुनै न कुनै प्राविधिक जटिलता भोग्ने गरेका छन् । ८८ प्रतिशत युवाले इन्टरनेट सामग्रीको पहुँचका लागि कुनै न कुनै प्राविधिक जटिलता अनुभव गर्ने गरेका छन् । १२ प्रतिशत युवासँग मात्र त्यस्तो कुनै प्राविधिक जटिलता झेल्नु नपरेको अनुभव छ ।
  • आफूले प्राप्त गर्ने समाचार वा सूचनाहरू त्रूटिरहित र तथ्यपरक हुनुपर्ने, समाचारमा स्रोत र सन्दर्भ उल्लेख हुनुपर्ने तथा पारदर्शिता र जवाफदेहिता कायम हुनुपर्ने अधिकांश युवाको बुझाइ छ । ८० प्रतिशत युवा समाचारमा स्रोत र सन्दर्भ उल्लेख हुनुपर्ने र पारदर्शिता र जवाफदेहिता कायम रहनुपर्ने मान्यता राख्छन् ।
  • इन्टरनेटमा उपलब्ध भएका सूचना वा समाचारमाथि विश्वास नलागेमा त्यस्ता सूचनाको तथ्य जाँच गर्ने अभ्यास नेपाली युवाहरूमा उच्च देखिन्छ । आफूले प्राप्त गरेका सूचना सही हो वा गलत भन्ने ठहर (फ्याक्ट चेक) गर्न सूचनाका अरू स्रोतहरू खोजी र तुलना गर्ने’ विधि उनीहरूले सबैभन्दा बढी प्रयोगमा ल्याउने गरेका छन् ।
  • सामाजिक सञ्जाल र अरू डिजिटल प्ल्याटफर्महरूले उपलब्ध गराएका मिथ्या सूचनाको उजूरी गर्ने (रिपोर्ट गर्ने, ब्लक गर्ने, अनफलो गर्ने जस्ता) सुविधा २२ प्रतिशत युवाले प्रयोग नगरेको बताएका छन् । डिजिटल अन्तरक्रियाका हिसाबले निष्क्रिय युवा जनसंख्या पनि उलेख्य भेटियो । ११ प्रतिशत नेपाली युवाले अरूले पोष्ट गरेको समाचार र सूचनालाई कहिल्यै पनि सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्महरूमा शेयर नगर्ने तथा त्यस्ता सामग्रीमा आफ्नो प्रतिक्रिया नदिने गरेको पाइयो
  • इन्टरनेटमार्फत हुने सार्वजनिक सरोकारका बहस वा राजनीतिक छलफलले नीति निर्माणमा ठूलो फरक पार्ने बहुसंख्यकले ठान्दछन् । यस्तो मान्यता राखे पनि आफै छलफलमा भने १२ प्रतिशत युवाहरू मात्र नियमित सहभागी हुने गरेको भेटियो ।
  • इन्टरनेटमा उपलब्ध सामग्री प्रयोग गर्दा अरूको गोपनीयता, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्नुपर्छ भन्ने कुरामा नेपाली युवाहरू स्पष्ट देखिए । युवा जनसंख्याको ठूलो हिस्साले आफूमाथि मानहानी, दुर्व्यवहार लगायतका अनलाइन हिंसाको अनुभव गर्ने गरेको पाइयो । लैङ्गिक पहिचान, जात, धर्म वा अपाङ्गता लगायतका आधारमा जोखिम समूहमा रहेका व्यक्तिहरू अरू भन्दा दुई गुणा बढी डिजिटल हिंसाको शिकार हुने गरेका तथ्याङ्कले बताउँछ ।
यस अध्ययनबाट निस्किएका नतिजाको विश्लेषणबाट सरोकारवालाले लाभ लिन सकून् भन्ने उदेश्यका साथ सुझावहरू समेत तयार गरिएको छ । सुझावहरू डिजिटल सञ्चार माध्यम, त्यसका प्रयोगकर्ता (खासगरी युवाहरू), सरकार र सार्वजनिक संघसस्था तथा नागरिक समाजलाई छुट्टाछुट्टै तयार गरिएको छ । यस्ता सुझाव लागू भएमा सहभागितामूलक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिताको वातावरण प्रवर्द्धन भई समाजमा विद्यमान द्वन्द्वलाई रचनात्मक ढङ्गले व्यवस्थापन  गर्न सहयोग पुग्ने देखिन्छ ।